Friday, October 17, 2014

चितवनमा मासु व्यावसाय फस्टायो

चितवन, ३१ असोज । कुखुराको मासु लामो समय ताजा राख्न सकिने गरी चितवनमा कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ । एक करोड लगानीमा भरतपुर–१० मा कोल्ड स्टोर सञ्चालनमा ल्याइएको हो ।


जयश्री पोल्ट्री सप्लायर्स र सूर्या भेटेरिनरीको संयुक्त लगानीमा चितवन उच्च माविको जग्गा भाडामा लिएर चितवन भ्याली कोल्ड स्टोर नाम राखि सञ्चालन गरिएको हो । कोल्ड स्टोरको मासु काठमाडौं पठाइने छ । यसको क्षमता ३० टन मासु अट्ने छ । जिल्लामै पहिलोपटक मासु राख्न सकिने कोल्ड स्टोर सञ्चालन गरिएको हो । जिल्लाभरकै किसानका कुखुरा यहाँ खपत गर्न सकिन्छ ।

कोल्ड भ्यानमार्फत मासु काठमाडौं पठाइने सञ्चालक दिनेश कट्टेलले बताए । “उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउन कोल्ड स्टोर सञ्चालनमा ल्याएका हौं”, उनले भने । अहिले ब्रोइलर कुखुराको मासुमात्रै राखिएपनि पछि माछा र खसीको मासुपनि बिक्री गरिने उनले बताए ।

उनका अनुसार ग्रील चिकेन, मःम, चिकेन समोसा, ससेज बिक्री गरिने छ ।१५ जनाले रोजगारी पाएका छन् । “हाम्रो बजार चितवनसँगै काठमाडौं हो”, अर्का सञ्चालक प्रकाशमणि सापकोटाले भने, “कोल्ड स्टोरमा राखेर मासु काठमाडौं पठाउने छौं ।”

उनले कुखुराको मासुको माग धेरै भएको र उपभोक्ताले स्वस्थ मासु खोज्ने भएकाले व्यवस्थितरुपमा कोल्ड स्टोर सञ्चालन गरिएको बताए । अहिले मासुका लागि जिउँदो कुखुरा भ्यान वा ट्रकमा राखेर काठमाडौं लगिन्छ । यसरी लगेको कुखुरा मर्ने संभावना धेरै हुन्छ । बिक्रेताले घाटा सहेर बिक्री गर्नुपर्ने बाध्यता कोल्ड स्टोरले हटाउने छ ।

त्यस्तै उपभोक्तासमेत स्वस्थकर मासु खानबाट वञ्चित भएका छन् । “जिउँंदै कुखुरा काठमाडौं लैजाँदा मरेर ९ देखि १० प्रतिशतसम्म घाटा ब्यहोर्नुपर्ने बाध्यता छ”,  सञ्चालक कट्टेलले भने, “यस्तो घाटा कम गर्नसमेत हामीले ठूलो लगानीमा कोल्ड स्टोर सञ्चालन गरेका हौं ।”

जिल्लामा साना ठूला गरेर १ हजार बढी फ्रेस हाउस सञ्चालनमा छन् । तर, ती फ्रेस हाउसमा यस्तो कोल्ड स्टोर छैनन् ।

No comments:

Post a Comment